काबुल । कारबम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
भीडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परी ७० जना घाइते पनि भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पतालबाहिर सडकमा विस्फोटनको घटना भएको हो ।
स्थानीय समयअनुसार बेलुका ६:५० मा घटना भएको थियो । प्रारम्भिक विवरणअनुसार कारका चालकले गलत तरिकाले कार चलाएर विस्फोट भएको थियो । घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्यामा वृद्धि हुन सक्ने स्थानीय अधिकारीहरुले सिन्ह्वासँग बताएका छन् । उनीहरुका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या वृद्धि हुने अनुमान गरिएको हो । विस्फोटनका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेन्समा पनि क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । घटनाबाट प्रभावित भएकामध्ये धेरै जना स्वास्थ्यकर्मीहरु समेत रहेका छन् । त्यसैगरी विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुन लोगार जिल्लाबाट आएका विद्यार्थीहरु पनि घटनामा परेका छन् । (रासस/सिन्ह्वा)