गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका–२ सिममा दुई सय वर्ष पुराना मल्लकालीन वास्तुकलाका आकर्षक घर अझैसम्म पनि इतिहासको साक्षी बनेर रहेका छन् ।
वि.सं. १८७० को दशकमा बाग्लुङका श्रीप्रसाद कँडेलले तत्कालीन शासकबाट विर्तास्वरुप यो गाउँ पाउनुभएको र उहाँले नै यहाँ घर निर्माण गर्नुभएको जानकार बताउँछन् । त्यतिबेला जुन निर्माण सामग्री र जुनस्वरुपमा निर्माण गरिएको थियो अहिले पनि यथावत् अवस्थामा नै ती घर रहेका छन् ।
विर्तास्वरुप पाएको यो गाउँ कँडेलका सन्ततिले वि.सं. १९७४ मा पोखराका लप्टन कोमलसिंह खत्रीलाई बिक्री गर्नुभएको र त्यसयता यहाँ कोमलसिंह खत्रीका सन्तानको बसोबास रहेको छ । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका ती घरमा आँखीझ्याल, फलाँटे ढोका रहेका छन् भने गाह्रोमा लगाइएका ढुङ्गा पनि आकर्षक तरिकाले कुँदिएका छन् ।
बेनी–दर्बाङ सडकखण्डको नजिकै करीब पाँच सय मिटरको दूरीमा रहेको सिम गाउँमा छ वटा पुराना घर रहेका छन् । तीमध्ये ‘बूढोघर नाम दिइएको तीनतले एउटा घर यहाँको सबैभन्दा पुरानो घर भएको हाल यहाँ बस्दै आउनुभएका लप्टन कोमलसिंह खत्रीका नाति ६३ वर्षीय मनोजकुमार केसीले बताउनुभयो ।
यी घर पुरातात्विक र प्राकृतिक खोज र अनुसन्धानका लागिसमेत निकै महत्वपूर्ण भएकाले आफूले यी सम्पदाको संरक्षण गरेको उहाँले बताउनुभयो । घरको तल्लोपट्टि म्याग्दी नदी, माथिल्लोपट्टि बेनी–दरबाङ सडक, वरिपरि फराकिलो खेतीयोग्य फाँट, सिँचाइ कुलो, ढुङ्गा बिच्छ्याएर बनाइएको चिटिक्कको बाटो, घर वरपर आँप र विभिन्न फलफूलको बगैँचा, खानेपानी, विद्युत् र सञ्चारको सुविधा भएको यो गाउँ अत्यन्त आकर्षक देखिन्छ ।
यहाँका घरको इतिहास २०० वर्ष पुरानो रहेको र आफूहरु यी सम्पदाको संरक्षण गर्नका लागि बसाइँ सरेर कतै पनि नगएको कोमलसिंह खत्रीकी नातिनी बुहारी विष्णु केसीले बताउनुभयो । खत्री परिवारका सदस्य अष्ट्रेलिया र अमेरिकामा छन् ।
जिल्लाकै प्राचीन सम्पदा र ऐतिहासिक महत्वको हुँदाहुँदै पनि सिम गाउँ ओझेलमा परेको र सरोकारवालाले कुनै चासो नलिएको खत्री परिवारका सदस्यको भनाइ रहेको छ । मल्लकालीन इतिहास, कला, संस्कृति र तत्कालीन समयको सामाजिक परिवेश झल्कने यो गाउँ र यहाँका घरको प्रचारप्रसार गरी यी सम्पदाको ऐतिहासिक महत्वलाई बुझाउन सक्ने हो भने यो गाउँ पर्यटकीय महत्वको गाउँ बन्न सक्ने प्रवल सम्भावना रहेको छ । रासस