काठमाडौं । महोत्तरीको बर्दिबास–३ स्थित कालापानी क्षेत्रमा बस्ती हटाउने तयारीविरुद्ध स्थानीयवासी आन्दोलनमा उत्रिएपछि बीपी राजमार्ग १८ घण्टादेखि अवरुद्ध भएको छ। स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासन र संघर्ष समितिबीच वार्ता सुरु भएको छ।
डिभिजन वन कार्यालय महोत्तरीले कालापानी क्षेत्रको बीपी राजमार्ग आसपासका बस्ती खाली गर्न सूचना जारी गरेपछि स्थानीयवासी सोमबार साँझदेखि सडकमा उत्रिएका हुन्। प्रदर्शनका कारण बर्दिबास–सिन्धुली सडकखण्डमा सोमबार साँझ ५ बजेदेखि यातायात पूर्ण रूपमा ठप्प छ।
अहिले कालापानीस्थित सामुदायिक भवनमा संघर्ष समिति, स्थानीय प्रशासन, प्रहरी, वन कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिबीच वार्ता भइरहेको प्रहरीले जनाएको छ। वार्तामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, महोत्तरीका एसपी श्यामकुमार सारु मगर, बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिना, नगरपालिकाका जनप्रतिनिधि र स्थानीय सहभागी छन्।
प्रदर्शनका क्रममा गएराति स्थिति झनै तनावपूर्ण बनेको थियो। स्थानीयवासीमाथि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेपछि आक्रोशित समूहले डिभिजन वन कार्यालयको एउटा गाडीमा आगजनी गरेका थिए।
कालापानी क्षेत्रमा करिब ३ सय परिवार बसोबास गर्दै आएका छन्, जसमध्ये करिब अढाई सय परिवार विस्थापित हुने जोखिममा छन्। उनीहरुले आफूहरू नयाँ अतिक्रमणकारी नभई दशकौँदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएको बताएका छन् ।
वन कार्यालयको टोली सोमबार साँझ हतियारसहित बस्तीमा पुगेर लालपुर्जा माग्दै बुधबारभित्र बस्ती खाली गर्न सूचना जारी गरेपछि स्थानीय त्रसित बनेका थिए। त्यसपछि स्थानीयले विरोधस्वरूप सडक अवरुद्ध गरेका हुन्।




















