पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको सीमा भित्र निर्माण गरिएका संरचना हटाउन डोजर अभियान सुरु गरेको छ । वर्षौंदेखि विवाद र राजनीतिक बहसको विषय बनेको फिर्केखोलालाई व्यवस्थित गर्दै करिडोर निर्माण गर्ने उद्देश्यसहित महानगरले आइतबारदेखि संरचना हटाउने काम थालेको हो ।
महानगर प्रमुख धनराज आचार्य तथा सम्बन्धित वडाध्यक्षहरूको नेतृत्वमा बिहान १० बजेदेखि फिर्केखोलाका तीन स्थानबाट एकसाथ डोजर परिचालन गरिएको छ । पहिलो चरणमा जिरो किलोमिटरदेखि सिर्जना चोकसम्म खोलामाथि बनेका संरचना हटाउन सुरु गरिएको महानगरले जनाएको छ । यस क्षेत्रमा लायन्स क्लबको भवनबाट भत्काउने कार्य अघि बढाइएको छ ।
त्यसैगरी, अर्को टोलीले वडा नम्बर २ र १८ को सीमास्थित अँधेरी कुनाबाट संरचना हटाउन सुरु गरी वडा नम्बर ४ तर्फ अघि बढिरहेको छ । अर्को डोजर वडा नम्बर ४ र ५ को सीमामा रहेको फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिर क्षेत्रबाट सञ्चालन गरिएको छ, जहाँबाट वडा नम्बर ५ र ८ तर्फ संरचना हटाउने काम जारी छ ।
महानगरपालिकाका अनुसार २०८० साल असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनका आधारमा खोलाघरभित्र बनेका सम्पूर्ण स्थायी तथा अस्थायी संरचना हटाउन लागिएको हो । प्रतिवेदनमा खोलाघरभित्र १६० वटा संरचना रहेको उल्लेख छ । तीमध्ये प्रदेश प्रहरी कार्यालय, विभिन्न सरकारी कार्यालय, समाजघर तथा निजी घरसमेत रहेका छन् ।
महानगरपालिकाले यसअघि जेठ ३ गते सार्वजनिक सूचना जारी गर्दै जेठ ९ गतेभित्र खोलाघरभित्रका संरचना स्वयं हटाउन आग्रह गरेको थियो । निर्धारित समय सकिएपछि महानगरले डोजर प्रयोग गरी हटाउने प्रक्रिया सुरु गरेको हो ।
महानगरले डोजर चलाउने सूचना जारी गरेपछि केही स्थानीयले आफ्ना संरचना आफैं हटाउन थालेका थिए ।




















