काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व वर्गमा आफैमा स्पष्टता, शुद्धता, इमान्दारिता, निष्ठा, नैतिकता र पारदर्शिता हुनुपर्ने बताउनु भएको छ ।
बुधबार जंगी अड्डामा ‘संगठनमा परिवर्तन सुदृढीकरण र दीगोपना’ सम्बन्धी ४ दिवसीय सेमिनारको समापन गर्दै प्रधानसेनापति थापाले अस्थिर, अनिश्चित, अस्पष्ट र तरल सुरक्षा वातावरणमा परिवर्तन बाहेक अरु सबै अस्थायी रहेको बताउनु भयो ।
परिवर्तनको प्रकृति अपरिवर्तनीय रहेको र हरेक संगठनमा परिवर्तनको निरन्तरता मात्र नभई सुदृढिकरण तथा दीगोपनाको बिषयमा सबैमा समान समझदारीको विकास र प्रवर्द्धन आवश्यक रहेको चर्चा पनि उहाँले गर्नु भयो ।
प्रधानसेनापति थापाले परिवर्तन संस्कृतिको निर्माण गर्ने सम्पूर्ण जिम्मेवारी नेतृत्वको नभए तापनि परिवर्तनको अङकुरण गराउने तथा परिवर्तनलाई सुदृढ बनाउँदै संगठनको भविष्य कोर्ने जिम्मेवारी नेतृत्व वर्गको रहेको उहाँले बताउनु भयो ।
नेपाल विश्वकै पुरानो राष्ट्र रहेको र नेपाली सेना एसियाकै सबैभन्दा पुरानो सेना भएको इतिहास स्मरण गर्दै नेपाली सेना राष्ट्र रक्षाको लागि सक्षम तथा समर्पित रहेको बताउनु भएको छ । प्रधानसेनापति थापाले परिवर्तनको शुरुवात गर्न उपयुक्त समय अहिले नै भएको वास्तविकता सबैले आत्मसात गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले सांगठनिक परिवर्तन सामुहिक प्रयास तथा जिम्मेवारीबाट मात्र सम्भव हुने र नेपाली सेना पेशेवार संगठनको रूपमा लक्ष्य प्राप्त गर्न निरन्तर लागीपर्ने बताउनु भयो ।
रक्षा मन्त्रालय तथा अन्य सुरक्षा निकायहरुका उच्च तहका अधिकृतहरू, नेपाली सेनाका रथीबृन्द तथा अधिकृत वर्गको उपस्थितिमा जङ्गी अड्डामा सञ्चालन भएको ४ दिवसीय सेमिनारमा ६ जना गैर सैनिक तथा ११ जना सैनिक विषयविज्ञहरुबाट व्यवस्थापन परिवर्तनका विषयमा कार्यपत्र प्रस्तुत भएका थिए ।




















