काठमाडौं । विभिन्न संवैधानिक आयोगमा नियुक्त पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । रिक्त रहेका पदमा संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुले आज राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा सपथग्रहण गरेका हुन ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार ३२ जना पदाधिकारीले सपथ लिएका छन् ।
संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका लगायतका संवैधानिक निकायमा ५ जना प्रमुख आयुक्त÷अध्यक्ष तथा २७ जना आयुक्त÷सदस्य नियुक्त गगर्नु भएको हो ।
संविधानअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन गरिनुपर्ने थियो । तर सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीलाई टेकेर नियुक्ति दिइएको छ ।
सम्वैधानिक परिषद् बैठकले अख्तियार दुरुपयोग अनुन्धान आयोगका रिक्त प्रमुख आयुक्तमा प्रेमकुमार राई तथा आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल, निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र डा जानकी तुलाधर, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षमा तपबहादुर मगर तथा सदस्यमा मनोज दुवाडी, डा सूर्य ढुङ्गेल र लिली बस्नेत थापालाई नियुक्ति सिफारिस गरेको थियो ।
त्यस्तै राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्यमा जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका अध्यक्षमा कमलाकुमारी पराजुली तथा सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र रीताकुमारी सिन्हा एवं मुस्लिम आयोगका सदस्यमा मोहमुद्धिन अली र निर्जा अरसत बेगको नाम सिफारिस गरेको थियो ।





















