काठमाडौं । सरकारले ‘वैैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । मन्त्रिपरिषद्को माघ ११ गतेकोे बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको हो ।
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बुधबार पत्रकार सम्मेलन गरी ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि’ खारेज गरेको जानकारी दिनुभयो ।
वैैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘वैैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको मन्त्री आलेले बताउनु भएको छ ।
कार्यविधि खारेज भएपछि दिगो वन व्यवस्थापन अन्तर्गत कतै पनि हरियो वन सखाप नहुने गरी कार्ययोजना बनाएर जाने तयारी मन्त्रालयले गरिरहेको पनि मन्त्री आलेले बताउनुभएको छ ।
वैज्ञानिक वन कार्यक्रम खारेज भएपछि सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन, साझेदारी वनमा कटान भइसकेका काठदाउरा प्रचलित कानून बमोजिम प्रक्रिया पुरागरी सदुपयोग, बिक्री वितरण तथा ओसारपसार खुल्ला गर्ने तयारी गरेको पनि मन्त्री आलेले बताउनुभयो ।
यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने बजेट सुनिश्चितता नभएसम्म रुख कटान गर्न स्वीकृति नदिने पनि मन्त्री आलेले प्रस्ट पार्नुभयो । विमानस्थल निर्माण गर्ने बजेट सुनिश्चित भएपछि मात्रै वन मन्त्रालयले प्रक्रिया अगाडि बढाउने उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेको एक महिनामा मन्त्रालय मातहतका धेरै कार्यक्रमलाई व्यवस्थित गराउन लागेको दावी समेत गर्नुभयो । सिंचाइ नभएका स्थानमा जडिबुटी खेती गर्न सरकारले नै बिऊ विरुवाको उपलब्ध गराउने र उत्पादन भइसकेपछि बजारको व्यवस्थापन गरिदिने योजना बनाएको आलेले बनाउनुभयो ।
मन्त्री आलेले पशुपति आर्यघाटमा निःशुल्क दाउराको व्यवस्था गर्न लागिएको पनि जानकारी दिनुभएको छ ।




















