कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो सीमा अन्तर्राष्ट्रिय रुपमा नै खुला गरेको जनाएको छ । श्रीलङ्काको पर्यटन मन्त्रालयले बिहीबार सो कुराको जानकारी गराएको हो । बिहीबारबाट श्रीलङ्का आउने सबै अन्तर्राष्ट्रिय जहाजहरु पनि खुला गरिएको जानकारी दिइएको छ ।
यस अघि श्रीलङ्कामा कोभिडको कारण भन्दै स्थलमार्गका साथै अरु अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गरिएको थियो । श्रीलङ्काको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार मात्र पनि ओमनबाट ५० जना श्रीलङ्काली नागरिक बोकेर ओमन एयरको विमान बिहीबार बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
सो विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै श्रीलङ्काली पर्यटन मन्त्री प्रसन्ना रणतुंगाले बिहीबारबाट श्रीलङ्काले विदेशी उडानहरु पनि खुला गरेको जानकारी दिनुभयो । उहाँले श्रीलङ्काको पर्यटन व्यवसाय निकै नै प्रभावित परेको अवस्थामा वर्तमान सरकारले यसरी विदेशी उडानहरु शुरु गरिदिएर निकै राम्रो काम गरेको भन्दै श्रीलङ्काली प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि विशेष धन्यवाद दिनुभयो ।
उहाँले होटल तथा पर्यटकहरुलाई सेवा दिने अरु सबै निकायहरुले आवश्यक मात्रामा स्वास्थ्यको सुरक्षाका मापदण्डहरु अपनाउने जानकारी दिनुभयो ।यहाँ आउने सबै पर्यटकहरुलाई पनि सो मापदण्ड पालना गर्न भन्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु देशभित्र पनि अपनाइने भन्दै उहाँले श्रीलङ्काको पर्यटन क्षेत्र सुरक्षित रहेको बताउनुभयो ।
तर प्रत्येक पर्यटकलाई पिसिआर परीक्षण भने गरिने बताइएको छ । उहाँले विमानस्थलको आगमन कक्षमा नै विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार यहाँ हरेक दिन कम्तीमा पनि २ हजार ५०० जति विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने क्षमता रहेको छ । रासस / सिन्ह्वा























