काठमाडौँ । युरोपेली सङ्घ इयूले कोभिड-१९ विरुद्ध लड्नका लागि सदस्य राष्ट्रहरूमा खोप दिन सुरु गरेको छ।
युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजर/बायोएनटेकले विकास गरेको खोप सङ्घका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको बताउनुभएको छ ।
एक दिन पनि कुर्न नसक्ने भन्दै कतिपय राष्ट्रहरूले शनिवारबाटै खोप लगाउने काम सुरु गरेको बीबीसीमा उल्लेख गरिएको छ ।
युरोपेली सङ्घमा हालसम्म ३,३५,००० भन्दा बढीको कोभिड-१९ का कारण मृत्यु भइसकेको छ। १ करोड ४० लाख भन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन् । लगभग सबैजसो सदस्य राष्ट्रमा कडा प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ।
कोरोना भाइरसको अझ बढ्ता सङ्क्रामक प्रकार विभिन्न युरोपेली देशसहित क्यानडा अनि जापानमा समेत पुष्टि भएका बेला खोप लगाउन सुरु गरिएको हो । भाइरसको नयाँ प्रकार देखिएपछि गत साताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन्।
युरोपेली सङ्घ अन्तर्गतका राष्ट्रहरूमा खोप कार्यक्रम आजबाट सुरु भएको हो। युरोपेली औषधि निकाय (इएमए) र युरोपेली आयोगले जर्मन-अमेरिकी फाइजर/बायोएनटेक खोपलाई स्वीकृति दिएसँगै खोप दिने कार्य सुरु गरिएको हो।
इयूले खोपका विभिन्न कम्पनीहरूबाट दुई अर्व भन्दा धेरै मात्रा प्राप्तिका लागि सम्झौता सुनिश्चित गरिसकेको छ। उत्तर-पूर्वी जर्मनीका अधिकारीहरूले भने आफूहरू थप एक दिन पनि नपर्खने भन्दै शनिवारबाटै ज्येष्ठ नागरिकहरूलाई खोप दिन सुरु गरेका थिए।
त्यस्तै हङ्गेरीमा एक जना चिकित्सकलाई पहिलो खोप दिइएको सरकारी समाचार संस्थाले जनाएको छ भने स्लोभाकियामा पनि खोप दिन सुरु गरिसकिएको छ।

























