संयुक्त राष्ट्रसंघ । बङेगलादेशको कोक्स बजार वरपर रहेका रोहिंग्या शरणार्थीलाई दबाबमा पारी बङ्गालको खाडी नजिकको एक टापूमा सार्न लागेको भन्दै संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ ।
“हामीले शिविरहरूबाट प्राप्त रिपोर्टहरूमा केही शरणार्थीहरू भसन चार टापूमा बसाइँ सर्न दबाब महसुस गरिरहेको बताइएको छ । स्थान परिवर्तनको बारेमा शरणार्थीहरूको प्रारम्भिक दृष्टिकोण परिवर्तन भएको छ र अब बसाइँ सर्न चाहेको छैनन्,” राष्ट्रसंघ प्रमुख महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन दुजारिकले भन्नुभयो ।
उहाँले भन्नुभयो, “यदि उनीहरूले स्थानान्तरणका लागि अनिच्छा प्रकट गरेका हुन् भने उनीहरूलाई कोक्स बजारको शिविरहरूमा बस्न दिइनु पर्दछ ।” बङ्गलादेशमा करीब १० लाख रोहिंग्या शरणार्थीहरूलाई आयोजना गर्ने उदारताको प्रसंशा गर्दै शरणार्थीलाई स्थानान्तरणका लागि दवाव दिइनु नहुने दुजारिकले बताउनुभयो ।
बङ्गलादेशले भसन चार टापूमा करिब एक लाख शरणार्थी राख्ने योजना अन्तर्गत करिब एक हजार ६०० व्यक्तिलाई त्यसतर्फ पठाइसकेको छ । स्थानान्तरण गर्ने टापू सामुद्रिक सतहबाट कम उचाइमा रहेको र त्यहाँ बाढी र डुबानको बढी सम्भावना रहने र स्वास्थ्य सेवा प्रबाहमा कठिनाइ हुने भनी मानवअधिकारवादी समूहले बङ्गलादेश सरकारको योजनाको विरोध गरिरहेका समय राष्ट्रसंघको यो भनाइ आएको हो ।
दुजारिकले पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “संयुक्त राष्ट्रसंघका कर्मचारीले ‘विस्थापित शरणार्थीहरूका समस्याग्रस्त रूप’ पाएको विवरणहरू आएका छन् । हामीले रोहिंग्या शरणार्थीका चिन्ताहरू बङ्गलादेशका अधिकारीहरूसँग राखेका छौ । हाम्रो लामो समयदेखि रहेको अडान भसन चारमा जीवनको सुरक्षा र दिगोपनको मूल्यांकन गर्न विस्तृत प्राविधिक र संरक्षण मूल्याङ्कन कुनै स्थान परिवर्तन गर्नु भन्दा अघि हुनुपर्दछ ।”
उहाँले थप्नुभयो, “शरणार्थी वा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू स्वेच्छाले र सुरक्षा र मर्यादापूर्वक सर्नुपर्नेछ दवावमा होइन ।” (रासस÷सिन्हवा)
























