न्युयोर्क । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा गर्नुभएको छ । अफगानिस्तानको नानगाहार प्रान्तको एक जिल्लामा रहेको सरकारी कार्यालय परिसर गएको शनिबार अपराह्न तालिबानी आत्मघाती लडाकूहरुले कारबम हमला गरेका थिए ।
त्यस कारबम आक्रमणमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको थियो भने अरु करिब ४२ जना नराम्ररी घाइते भएका थिए । अपरान्ह कार्यालय समयमा सेवा लिन गएका सर्वसाधाराण नागरिकहरुको भिडभाड रहेको मौका पारेर आत्मघातीहरुले नान्गाहार प्रान्तको जिल्ला प्रशासनिक कार्यालयमा सो बम हमला भएको थियो ।
त्यस क्रममा सरकारी काम लिन सो कार्यालयमा लाममा बसेका सर्वसाधारणको ज्यान गएको थियो । घाइते हुने पनि सेवा लिन त्यहाँ पुगेका सर्वसाधारण थिए । यसरी आफ्ना कामका लागि सरकारी कार्यालयमा पुगेका सर्वसाधारण नागरिकको हत्या गर्नु जघन्य अपराध हो भन्दै महासचिव गुटर्रेसले त्यस कार्यको कडा शब्दमा निन्दा गर्नुभएको छ ।
महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकद्धारा आइतबार जारी गरिएको विज्ञप्तिमा सो कुरा बताइएको छ । सो विज्ञप्तिमा महासचिव गुटर्रेसले यस जघन्य अपराधमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने पनि बताउनुभएको छ ।
साथै उहाँले यस आक्रमणमा परी ज्यान गुमाएका परिवारका सदस्यहरुप्रति समवेदना व्यक्त गर्दै निधन भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । महासचिव गुटर्रेसले सो बम हमलामा परी घाइते भएका सर्वसाधारण नागरिकको स्वास्थ्या लाभको कामना गर्नुभएको पनि उहाँका प्रवक्ता डुजारिकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
रासस / एएनआई























