काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा गरीएको परीक्षणमा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनीहरु मध्ये काठमाडौं उपत्यकामा मात्र ४०८ जना छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका समेत गरेर नेपालमा संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म २७ हजार १२७ जना संक्रमणमुक्त भएको भएको प्रवक्ता गौतमले जानकारी दिएका छन्।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ। प्रदेश १ मा मोरङ वर्षिया महिला, प्रदेश २ मा महोत्तरीका ७८, बाराका ७५ वर्षीय पुरुषको मृत्यु भएको छ।
त्यसैगरी, बागमती प्रदेशमा मकवानपुरका ५२ वर्षिया महिला, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। प्रदेश ५ मा नवलपरासीका ३६ वर्षिया महिला र रुपन्देहीका ४० वर्षीय पुरुषको मृत्यु भएको छ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ सय २६ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जना संक्रमित थपिएका छन् ।




















