काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ३४ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज थपिएका समेत गरेर कुल संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ। प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ रहेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ५१९ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ९२ हजार ४१८ परीक्षण भएका छन्।
पछिल्लो २४ घण्टामा १ सय ३६ जना कोरोना संक्रमित निको भएसँगै कोरोनामुक्त हुनेको संख्या १८ हजार ३५० पुगेको छ।
कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।
काठमाडौं उपत्यकामा आज मात्रै २ सय १६ जना कोराना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय १२ पुगेको छ।
आज काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन्। योसँगै अब काठमाडौंमा २ हजार ४५३, ललितपुरमा ३९९ र भक्तपुरमा २४४ संक्रमित पुगेका छन्।




















