काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार दिएको जानकारी अनुसार नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ६ सय ७९ पीसीआर परीक्षण गरिएको थियो । हालसम्म पीसीआर विधिबाट ५ लाख ७९ हजार ८ सय ९९ परीक्षणहरु गरिएका छन् । एपीपीई, जनशक्ति वाहेक नै पीसीआर परीक्षणमा मात्र ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार पाँच सय रुपैयाँ खर्च भइसकेको जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ सय ५० जना छ । यो सँगै हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको प्रवक्ता गौतमले बताएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १२ हजार २ सय ३४ जना रहेका छन् । आइसोलेसनमा संख्या १८ हजार २१४ जना रहेको उनले बताएका छन् । त्यस्तै आईसीयुमा राखेर १३३ जनाको उपचार भइरहेको र १५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।




















