काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ आएको हो । जसमध्ये ७४ जना महिला छन् भने ४ सय ६१ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले वताएका छन् ।
कोशी अस्पतालको प्रयोगशालामा मोरङका ८ जना र सप्तरीका २ जनामा कोरोना संक्रमण पाइएको छ भने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ३ जना र मोरङका ४ जनामा नै कोरोना संक्रमण पाइएको हो।
यस्तै सप्तरीको राजविराजस्थित प्रयोगशालामा सप्तरीका ११ जनामा कोरोना संक्रमण पाइएको छ भने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १०, महोत्तरीका १, सप्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अछामका २, अर्घाखाँचीका ९, बैतडीका १४, डडेल्धुराका १५ जना, डोटीका ७ जना, गुल्मीका १, जाजरकोटका १ जना, कैलालीका ५८ जना, नवलपरासीका ५, सर्लाहीका ४७, सिन्धुपाल्चोकका २ जना, सिराहाका २३ जना, स्याङ्जाका २० जना, पाल्पाका १० जना, प्यूठानका २४, रौतहटका ३४, र रुपन्देहीका ९ जनामा कोरोना संक्रमण पाइएको छ ।
त्यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा चितवनका ५ जना र नवलपरासी पूर्वका १६ जना कोरोना संक्रमित पाइएका छन् भने धुलिखेल अस्पतालको प्रयोगशालामा ओखलढुंगाका १ जनार गुल्मीका ४१ जना कोरोना संक्रमित भेटिएका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पोखरामा नवलपरासी पूर्वका ८ जना र स्याङ्जाका १२ जना कोरोना संक्रमित भएका छन् भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जाका १ र तनहुँका ११ जनामा कोरोना संक्रमण पाइएको छ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका १४, पाल्पाका ८० जना, रुपन्देहीका ३ जना र प्यूठानका ६ जना कोरोना संक्रमित भेटिएका छन् भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दाङका १३ जना संक्रमित भेटिए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज थपिएका सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको जानकारी दिएका छन् ।
प्रवक्ता डा. गौतमले रसुवा बाहेक देशका ७६ जिल्लामा संक्रमण देखिएको बताएका छन्। नेपालमा कोरोना संक्रमित भेटिएका मध्ये २ हजार १ सय ४२ जना निको भएर घर फर्किएका छन् भने हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।



















