काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिका जाने भएका छन्।
प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उनी असोज ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री स्वयं संयुक्त राष्ट्रसंघको महासभामा पुगेर नेपालको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने आवाज उठ्दै आएको थियो।
न्युयोर्कमा हुने महासभाको सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या तथा विपद्का विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ। उनले जलवायु न्यायको विषयलाई समेत प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले महासभामा सहभागी हुने तयारी थियो। तर, भोटेकोशी बाढीपछि नेपालले भोगिरहेको विपद् र जलवायु परिवर्तनको असरबारे प्रधानमन्त्री स्वयंले अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्ने माग बढेपछि शाह न्युयोर्क जाने निर्णय भएको हो।




















