नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्।
अवलोकनका क्रममा राष्ट्रपति पौडेलले बाढी प्रभावित तथा पीडित नागरिकसँग भेटघाट गरी उनीहरूका समस्या र गुनासो सुनेका छन्।
उनले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धारमा भइरहेका प्रयास र बाढीबाट भएको धनजनको क्षतिबारे जिल्ला सुरक्षा समितिसँग जानकारी लिएका थिए।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा समितिका सदस्यहरूले रसुवा बाढीका कारण नुवाकोटमा भएको क्षतिको विवरण राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका थिए।
प्रजिअ रेग्मीले बाढी प्रभावितको खोजी तथा उद्धार, राहत वितरण, पुनर्स्थापना र तत्कालीन पुनर्निर्माणका लागि भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

राष्ट्रपति पौडेलले नुवाकोटमा बाढी प्रभावित नागरिकलाई राखिएको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका छन्। त्यहाँ रहेका प्रभावित नागरिकले भोटेकोशीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
यसअघि राष्ट्रपति पौडेलले सोमबार नै बाढी प्रभावित क्षेत्रअन्तर्गत नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवाका बाढी प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गरेका थिए।





















