मुम्बई । भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे त्यस क्षेत्रमा दुई दिन अघि आएको निसर्ग नामको आँधीबाट भएको क्षतिको निरीक्षणका लागि जानु हुने भएको बताइएको छ ।
उहाँ शुक्रबार पुने जिल्लालगायतको क्षेत्रको निरीक्षणमा जान लाग्नुभएको अधिकारीहरुले जनाएका छन् । उक्त राज्यमा यस आँधीबाट छ जनाको ज्यान गएको छ । अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ ।
महाराष्ट्र राज्यका पुनेलगायतका विभिन्न क्षेत्रमा आँधीबाट छ जनाको ज्यान गएको छ भने एक सय भन्दा बढी घर भत्किएका छन् । त्यस्तै कैयौँ व्यक्ति घाइते पनि भएका छन् । गत बुधबार राति आँधी आउने भविष्यवाणी गरिएलगत्तै ती गाउँहरु खाली गराएका त्यहाँका नागरिकलाई अन्यत्रै सारिएको थियो । जसले गर्दा धेरै क्षति भने हुन पाएको थिएन ।
भारतको मुम्बई र सो आसपासका क्षेत्रमा निसर्ग नामको आँधी आउने अनुमान गरिएको थियो । त्यस लगत्तै महाराष्ट्रको तटीय क्षेत्रमा उद्धार कार्य गरिएको बताइएको थियो । यस पटक व्यापक सतर्कता र समयमै उद्धारका कारण ठूलो क्षति हुन नपाएको अधिकारीहरुले जानकारी दिएका छन् । मुख्यमन्त्री ठाकरेले सो राज्यमा आँधीबाट भएको क्षतिको बारेमा दुई दिन सरकारलाई जानकारी गराउन हिजो सूचना जारी गर्नुभएको थियो ।
यहाँको राज्य सरकारले उक्त आँधीबाट ज्यान गएको व्यक्तिको परिवारका सदस्यलाई प्रति परिवार ४ लाख भारतीय रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।
(रासस–एएनआई)
























