काठमाडौं । दोलखाका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ । उनी कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार उनी जेठ १३ गते उपचारका लागि काठमाडौँमा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए।
हेमोराइजिस्टोक भएका उनको अप्रेसन भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।
१५ गते उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि टिचिङ अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो।
उनको बुधबार निधन भएसँगै नेपालमा कोरोनाका कारण मर्नेको संख्या ९ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्।
प्रवक्ता डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप २०१ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ।
बुधबार थप १२ जना डिस्चार्ज भएसँगै कोरोना निको भएर घर फर्कनेको संख्या २७८ पुगेको छ।



















