काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या अहिलेसम्मकै बढी अर्थात २८८ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले २८८ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको बताएका छन्।
मंगलबार थपिएका २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमित मध्ये २ सय ७० पुरुष र १८ जना महिला छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका ३८ जनामा कोरोना संक्रमण पाइएको छ भने पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ५ सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
धरानमा गरिएको परीक्षणमा सप्तरीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ भने भेरी अस्तपालको प्रयोग शालामा बर्दियाका ३ र बाँकेका १७ जनामा कोरोना संक्रमण देखिएको छ।
सुर्खेतको प्रयोगशालमा सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १० जनामा कोरोना पोजेटिभ देखिएको छ।
यस्तै, हेटौंडामा गरिएको परीक्षणमा बाराका १ जना, दाङको राप्ती स्वसाथ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १७ र प्युठानका १ जनामा कोरोना भाइरस देखिएको छ।
त्यस्तै सेती अस्पातलमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका ११८ जनामध्ये धनुषाका ६, महोत्तरीका २, रौतहटका ३६, सर्लाहीका २१, सिराहाका १७, भक्तपुरका १, र धादिङ घर भई काठमाडौंमा उपचाररत एक जना महिला, कपिलवस्तुका १६, काठमाठौंका ४ स्वास्थ्यकर्मी, नवलपरासीका २ जना, नुवाकोटका २ जना, रुपन्देहीका १० जना छन् ।
प्रदेश १ मा १६८, पदेश २ मा ८१६, बागमतीमा ५४, गण्डकीमा ३७, प्रदेश ५ मा ६९९, कर्णाली प्रदेशमा २६२, सुदूरपश्चिममा ७३ जनामा संक्रमण पुष्टि भएको हो।
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप ४५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या २६६ पुगेको छ। नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ८ जनाको भने मृत्यु भइसकेको छ।




















