काठमाडौँ । चिनियाँ जनमुक्ति सेनाको एयरफोर्स विमानले नेपाली सेनाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । चीनको छेन्दुबाट आएको चिनियाँ सेनाको विमानले ४.५ टन स्वास्थ्य सामग्री ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ती स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, पिपिइ, पञ्जा, बुट, थर्मलथनलगायत रहेका छन् ।
विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले चिनियाँ सेनाको जहाजले नेपाली सेनाका लागि स्वास्थ्य सामग्री ल्याएर फर्किएको जानकारी दिनुभयो । चीन सरकारले यसअघि पनि नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो । अहिले चीनको बेइजिङ, ग्वान्जाओ, चाङ्सालगायत गन्तव्यबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालय एयरलाइन्सले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याइरहेका छन् ।
यसैवीच नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री शुक्रबार काठमाडौं आइपुग्ने बताइएको छ । हवाई मार्गबाट स्वास्थ्य सामग्री ल्याउन ढिलाइ भइरहेका बेला स्थलमार्गबाट शुक्रबार सामान काठमाडौं आइपुग्ने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनु भएको छ ।
२२ वैशाखमा चीनको ग्वान्झाओबाट हिँडेको कन्टेनर शुक्रबार काठमाडौं आइपुग्ने उहाँले बताउनु भएको छ ।
ग्वाञ्झाओबाट २२, २४ र २५ गते तीनवटा कन्टेनर नेपालको स्वास्थ्य सामग्री बोकेर हिँडेको थियो । ती कन्टेनरमा ११०, १३० र ३९९ सीयूएम स्वास्थ्य सामग्री थिए । स्थलमार्गबाट तातोपानी नाका हुँदै काठमाडौंसम्म आइपुग्न ती कन्टेनरलाई १२ दिन लागेको छ ।
यसअघि सेनाले पहिलो चरणमा हवाई मार्गबाट दुईवटा वाइडवडी विमानमार्फत स्वास्थ्य सामग्री ल्याउने भनेको थियो । चीनमा सरकारी बिदा र भन्सारको लामो प्रक्रियाका कारण योजना पूरा नभएको बुझिएको छ ।
अब स्थल र हवाईमार्ग दुवैबाट सामान ल्याउने प्रक्रिया निरन्तर अघि बढाइने प्रवक्ता पाण्डेले बताएका छन् ।




















