काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखालाई सर्जिकल सप्लायर्स एशोसिएशन अफ नेपाल (सान) ले एक हजार मास्क र एक थान थर्मगन प्रदान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा सानका अध्यक्ष रमण कायस्थले शाखाका अध्यक्ष शन्तराम बिडारीको तापक्रममापन गरेर थर्मगन प्रदान गर्नुभयो । सानका उपाध्यक्ष हरि रञ्जितकार तथा सचिव सुदन पराजुलीले शाखाका अध्यक्ष बिडारीलाई संयुक्तरूपमा मास्क प्रदान गर्नुभएको थियो ।
सानका अध्यक्ष कायस्थले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनमा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शाखाका अध्यक्ष बिडारीले समाजमा सत्य तथ्य सूचना सङ्कलन तथा समाचार प्रवाहमा क्रियाशील पत्रकारको चुल्हो निभ्न नदिने शाखाको अभियान रहेको बताउँदै उनीहरुको निःशुल्क स्वास्थ्य उपचार तथा बीमाका लागि सरकारसँग माग गर्नुभयो ।
अभाव, दबाब र प्रभावबिनाको पत्रकारिताको खाँचो औँल्याउँदै उहाँले विभिन्न दाताबाट खाद्य सामग्री सङ्कलन गरी आफ्ना २५० सदस्यलाई वितरण गरेको जानकारी दिनुभयो । शाखाले लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका आफ्ना सदस्य पत्रकारलाई चामल, दाल, मस्यौरालगायत खाद्य सामग्री प्रदान गरेको हो ।




















