राष्ट्रिय सभामा वामदेव गौतमलाई मनोनयन गर्ने सचिवालयबाट निर्णय गराएर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वएमाले भित्र विवादको झिल्को फालेका छन् । पूर्वएमालेमा सल्किएको आगोले नेकपालाई पनि जलाउँछ र आफू पनि जल्छु भन्ने हेक्का उनले नराख्नुलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् । प्रचण्ड नेपालको कम्युनिष्ट आन्दोलन दह्रो बनाउन एमालेसँग एकता गर्न आएका थिए कि, लुलो भन्ने प्रश्न पनि बेलाबेलामा उठिरहेको छ ।
प्रधानमन्त्री केपी ओली युवराज खतिवडालाई नै पुनः राष्ट्रिय सभामा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिन चाहन्छन् भन्ने बुझेपछि प्रचण्डले ‘गौतम गोटी’ चालेका हुन् । जसले गर्दा नेकपामा बबण्डर शुरु भएको छ । पार्टीमा आफ्नो स्थिति बलियो बनाउन प्रचण्ड पूर्वएमाले भित्र खेलिरहेका छन् या अन्य कुनै कारण छ, उनलाई साथ दिएका नेताहरुले विश्लेषण गर्नु जरुरी रहेको नेकपाकै कार्यकर्ताहरु बताउँछन् ।
प्रधानमन्त्री हुने बाटो नखोली नजाने अडानमा रहेका वामदेव राष्ट्रिय सभामा जान तयार हुनु/गराउनुमा विशेष गरेर तीन वटा कारण रहेको विश्लेषकहरुको टिप्पणी छ । पहिलो कारण ओलीलाई कमजोर बनाउन, दोस्रो– ओली उपचारमा रहेका बेला ईश्वर पोखरेललाई सरकारमा हर्ताकर्ता हुनबाट रोक्न र तेस्रो तस्कर, कालोबजारी, राजस्वमारा व्यापारीको धाप पाउन । अर्थमन्त्रीबाट खतिवडालाई हटाउन त्यस्ता व्यापारीहरुले चलखेल गरिरहेका छन् ।
संविधान संशोधन गरेर गौतमलाई प्रधानमन्त्री ओलीको विकल्पमा तयार गर्ने योजना सहित प्रचण्ड डिजाइनमा कार्यदल गठन गरेर गोप्य राखिएको थियो । तर कार्यदल गठन गरेको खबर बाहिरिएसँगै २४ घण्टा नवित्दै विघटन गर्नुपर्ने अवस्था आएपछि प्रचण्डले संविधान संशोधन विना पनि गौतमलाई राष्ट्रिय सभा सदस्य हुन तयार बनाए ।
आफू विरुद्ध षडयन्त्र भइरहेको भन्दै प्रधानमन्त्रीले अभिव्यक्ति दिएको केही दिन नवित्दै उनीविरुद्धको षडयन्त्र सतहमा आएको छ । माधव नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले पटकपटक गोप्य वैठक गरेर प्रधानमन्त्रीलाई असफल बनाउन लागेपछि नेकपाका कार्यकर्ताहरु चिन्तित बनेका छन् ।
पार्टीमा संकट बढ्ने संकेतहरु देखिन थालेपछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डसँग पटकपटक छलफल गरेका थिए । ओलीसँगको भेटमा उनको प्रिय हुन खोजेपनि भैसेपाटीको वैठकदेखि नै उनी प्रधानमन्त्रीका विरुद्ध लागेको देखिन्छ । वामदेवलाई राष्ट्रिय सभामा लैजानेदेखि एमसीसी अनुमोदन हुनबाट रोक्ने षडयन्त्रलाई त्यसकै कडीका रुपमा लिइएको छ ।
प्रधानमन्त्री ओलीले प्रचण्ड फण्डा तुहाउन वरिष्ठ नेता नेपालको साथ लिन खोजिरहेका छन् । उनले पटकपटक नेता नेपाललाई भेटेर मिलेर जान आग्रह गरेको बताइएको छ । देशलाई पुनः अस्थिरतातर्फ धकेल्ने खेलमा सहभागी नहुन प्रम ओलीले नेपाललाई आग्रह गरेको वालुवाटार स्रोतको बताएको छ ।
ओलीले नेता नेपाललाई भेटेको भोलिपल्ट विहानै (शुक्रवार) प्रचण्ड निवासमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतबीच छलफल भएको थियो । सो छलफलमा केही मन्त्र फुकेर चितवन पुगेका प्रचण्ड त्यतैबाट सिन्धुपाल्चोकको सुकुटे हान्निएका थिए । उनी हिडेपछि प्रम ओली र वरिष्ठ नेता नेताबीच छलफल भएको थियो ।
राजनीतिमा कुनै ‘ट्वीस्ट र टर्न’ आउने बित्तिकै वा कुनै नयाँ कुरा गर्नु पर्यो भने गिरिजाप्रसाद कोइराला विराटनगरस्थित निवास पुग्थे । प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुग्ने गरेका छन् ।
प्रचण्डको सुकुटे यात्रालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । सुकुटे पुगेर प्रचण्डले बनाएको षडयन्त्र आत्मघाती हुने हो कि भन्ने पनि पछिल्लो समय विकसित घटनाक्रमले संकेत गरेको छ ।
संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार र नेकपाप्रति आक्रामक देखिएको छ भने बाबुराम भट्टराईको नेतृत्वको समाजवादी पार्टी र राजपालगायतले कांग्रेसको स्वरमा स्वर मिलाएर सरकार र नेकपाको विरोध गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भारतसँग निकट भएको आरोप लाग्दै आएका बाबुराम भट्टराई र राजपाका नेताहरुले सरकारलाई वद्नाम गर्न प्रयास गरिरहेकै बेला पार्टीभित्रैबाट प्रधानमन्त्री विरुद्ध षडयन्त्रका तानावाना बुनिनले धेरै आशंका पैदा भइरहेको छ ।
संविधान संशोधनको दवाव दिएर भारतले तराईको राजनीतिलाई आफू अनुकुल बनाउने र जनसंख्याको आधारमा तराईबाट संसदमा प्रतिनिधित्व गराएर फिजीमा जस्तै आफ्नो वर्चस्व लाद्न सक्ने सम्भावना रहेको कतिपय विश्लेषकहरुले टिप्पणी गरिरहेका बेला नेकपाकै नेताहरु संविधान संशोधनको खेलमा लाग्नुलाई धेरैले अर्थपूर्णरुपमा हेरेका छन् ।
बाहिर देखिँदा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन उनीहरुले संविधान संशोधनको तयारी गरेका थिए भन्ने देखिन्छ । तर भित्री रुपमा यसमा ठुलै चलखेल रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । व्यक्तिको लागि संविधान संशोधन गर्न हुने मधेशी जनताको माग सम्वोधन गर्न किन संविधान संशोधन नगर्ने भन्ने प्रश्न खडा हुने र तराईमा पुनः आगो सल्किने र राजनीतिक अस्थिरता खडा हुने बारेमा उनीहरु अनविज्ञ हुने कुरै थिएन ।
संविधान संशोधनको तयारी यसपटकलाई तुहिए पनि षडयन्त्र सकिएको छैन । विभिन्न देशी–विदेशी शक्तिहरुले सरकारलाई असफल बनाउने, अस्थिरता र अराजकता मच्चाउने, विकासमा ठेस पुर्याउने, सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यलाई नारामै सीमित बनाउने, ०६२÷०६३ पछिको उपलव्धीलाई उल्ट्याउने, १० वर्षे द्वन्द्वका घटनाहरुलाई उछालेर चलखेल गर्नेलगायतका षडयन्त्रहरुलाई सार्थक पार्न सत्तारुढ पार्टीभित्रको विवाद सहयोगी नबनोस् । नेताहरुमा चेतना भया ।