मोरङ । बेलबारी –११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो ।
विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गरेको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ ।
६ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आएका छन् । सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उनले बताए ।
रोजगारीको सिलसिलामा ८ वर्ष मलेसिया बसेर पाँच वर्षअघि आएका दिलीप श्रेष्ठले पाँच वर्षअघि यो व्यवसाय सुरु गर्दा सातामा करिब २० देखि ३० किलो मात्र सुकुटी बिक्री हुने गरेको सुनाए ।
अहिले बढेर दिनकै ६ सयदेखि सात सय किलो सुकुटी बनाएको उनले बताए । ‘स्वदेशी बजारमा भन्दा बेलायत र अमेरिकामा बस्ने नेपालीले यहाँको सुकुटी माग गर्नुहुन्छ, जनशक्ति अभावमा माग पूरा गर्न सकिएको छैन,’ उनले भने।
विदेशमा रहेका नेपालीहरुमा कोसेलीको रुपमा सुकुटीको माग उच्च रहेतापनि बनाउन धेरै झन्झट र मिहेनत पर्ने भएकाले मागअनुसार पुर्याउन नसकिएको श्रेष्ठ बताउँछन् ।
प्रतिकिलो दुई हजारमा बिक्री भइरहेको सुकुटी व्यापारले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ। मासिक दुई लाखसम्म आम्दानी भइरहेको उनी बताउँछन् ।
वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष कतारमा काम गरेर आएका शोभितमान श्रेष्ठ ९ वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यापार गर्दै आएका छन् । साताको १० किलो मासु ल्याएर सुकुटी बनाउने गरेकामा हाल दैनिक २० देखि २५ किलो सुकुटी बनाउने गरेको उनी बताउँछन् ।
लक्ष्मीमार्गमा दैनिक राँगाको सुकुटीको माग बढ्दो क्रममा रहेको र आफूलाई भ्याइनभ्याइ भएको उनले बताए । विशेष गरी खाडी मुलुकमा रहेकाहरूले मगाउने उनी बताउछन् । विदेशको भन्दा परिवारसँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि मिलेको उनले बताए ।
पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने धेरै टाढाटाढाबाट यहाँको सुकुटीको स्वाद चाख्न ग्राहकहरु आउने गरेको होटल सञ्चालक टफिनबाबु श्रेष्ठ बताउँछन् । लक्ष्मीमार्गको नयाँ परिचय यहाँको सुकुटी बनेको पनि उनले बताए । रासस