काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताएका छन् ।
नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।
कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लिलता स्वीकार्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको अद्योगतिलाई माथि लैजान एमाले र नेपाली कांग्रेससँगको सहयात्रा गरिएको बताएका छन् ।
अध्यक्ष ओलीले केही तत्वहरुले पार्टीविरुद्ध भ्रम फैलाए पनि जनताले त्यस्ता कुराको विश्वास नगर्ने बताएका छन् । एमाले हात्तिको बथान भएको बताउँदै उनले भने ‘अहिले केही मानिसहरुले नाङ्लो ठटाएर हात्ति तर्साउने काम गरिरहेका छन् । तर एमाले हात्तिको बथान हो। हात्तिको बथानमा नाङ्लो ठटाएर तर्सिने पार्टी होइन।’
यस्तै उनले विगत केही समयदेखि एमालेमाथि लागेका आरोपहरु खण्ठन र चर्चा गर्नका लागिसमेत लायकका नभएको टिप्पणी गरेका छन् । त्यस्ता आरोपहरु एकछिनका लागि युट्युबमा कन्टेन्ट भए पनि भ्रम के हो भन्ने जनताले बुझ्ने विश्वास व्यक्त गरेका छन् ।
आफ्नो आगामी चीन भ्रमणका सन्दर्भमा पनि उनले जवाफ दिएका छन्। उनले आफू चीन घुम्नका लागि नभएर देश हीत र भलाइका लागि जान लागेको बताएका छन् । साथै एमालेसँग अहिले देशलाई अघि बढाउने सही नीति र योजनासमेत रहेको दाबी गरेका छन् ।