काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिएको बताएका छन् । नेपालले पहिलो पटक गरेको कन्ट्री रेटिङको नतिजा बिहीबार सार्वजनिक भएपछि शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन अर्थमन्त्री पौडेलले सार्वभौम क्रेडिट रेटिङ सबै नेपालीका लागि खुसीको नतिजा भएको भन्दै नेपालमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान समेत गरेका छन् ।
दक्षिण एसियामा भारतपछि नेपालको रेटिङ राम्रो रहेको बताउँदै मन्त्री पौडेलले यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सवल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने बताएका छन् ।
नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको छ । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थमन्त्री अर्थमन्त्री पौडेलले बताएका छन् ।
रेटिङमा मूलतः अर्थतन्त्रका ४ क्षेत्रमा अर्थतन्त्रको संरचनागत पक्ष, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक वित्त र बाह्य क्षेत्रका आर्थिक परिसूचक लेखाजोखा गरेको थियो ।
स्ट्यान्डर्ड चार्टड बैंकका प्रतिनिधिले ट्रिपल सी माइनसको आधारमा रिस्क प्रिमियम लिने गरेकामा हब प्रिमियम घटेर नेपाललाई फाइदा गर्ने मन्त्री पौडेलले बताए ।
त्यस्तै अर्थसचिव डा. राम प्रसाद घिमिरेले क्रेडिट रेटिङले व्यवसायिक वातावरणका लागि ‘कन्फिडेन्स’ बढाउन भूमिका खेल्ने बताएका छन् ।
रेटिङमार्फत सुधारका क्षेत्र पहिचान भएको र त्यसमा उत्प्रेरित हुन सहयोग पुगेको वतार्उँदै उनले यो नेपालको सुरुवात भएको र निरन्तर रुपमा सुधार गर्न उत्प्रेरणा दिएको बताएका छन् ।

























