काठमाडौं । पछिल्लो समय देशका आधाभन्दा बढी क्षेत्रमा डेंगुको संक्रमण फैलिएको छ। डेंगुका कारण साउनयता ६ जनाको मृत्यु भइसकेको छ भने ३ हजार ८ सय ९९ जना संक्रमित भएका छन्। वैशाख महिनादेखि अहिलेसम्मको तथ्यांक हेर्ने हो भने डेंगुबाट ७ हजारभन्दा बढी संक्रमित भइसकेका छन्।
डेंगु नियन्त्रणबाहिर गइसक्दा पनि रोग नियन्त्रणको महत्वपूर्ण जिम्मेवारी पाएको निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने डेंगुका कारण मृत्यु भएकाको र बिरामीको तथ्यांक संकलन मात्र गरेर बसिरहेको छ।
चालु आर्थिक वर्षको एक महिनामा नै डेंगु देशका ५६ जिल्लामा देखिएको छ भने झण्डै ४ हजार जना संक्रमित भइसकेका छन्। ५६ वटा जिल्लामा डेंगुको संक्रमण फैलिसक्दा पनि मन्त्रालय यसको नियन्त्रणमा लाग्न सकेको छैन।
डेंगु नियन्त्रण बाहिर जानुमा संघीय संरचना अनुसार तीन तहको सरकारमा तालमेल मल्नि नसक्नु भन्दै स्वास्थ्य मन्त्रालय आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहेको छ। मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु नियन्त्रणकालागि ठोस कदम चाल्नु पर्ने हो। तर, महाशाखा नै संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहसँगको तालमेल मिल्न नसकेको भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिरहेको छ।
डेंगुका कारण सुनसरी, सिन्धुपाल्चोक, चितवन र डोटीमा एक एक जनाको मृत्यु भइसकेको छ भने काठमाडौंमा २ जनाको मृत्यु भएको छ।
डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। यी लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ। औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ।
यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन्।
डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो। यो आफैं निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ। तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ।




















