काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्को समयमा राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
बिहीबार बसेको रास्वपा सचिवालय बैठकमा सभापति लामिछानेले विपद्को सामना गर्न सबै राजनीतिक शक्तिबीच सहकार्य र एकता आवश्यक रहेको बताएका हुन्।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल तथा त्यसबाट निकालिएका निष्कर्षबारे समेत जानकारी गराएका थिए।
सर्वदलीय बैठकमा दलहरूबीच देखिएको ऐक्यबद्धताप्रति लामिछानेले धन्यवादसमेत व्यक्त गरेको खरेलले बताए।
‘खासगरी सर्वदलीय बैठकमा भएका छलफल, त्यसबाट निकालिएका निष्कर्षबारे पनि जानकारी गराउनुभयो,’ लामिछानेको भनाइ उद्धृत गर्दै प्रवक्ता खरेलले भने, ‘सर्वदलीय बैठकमा जुन ऐक्यबद्धता व्यक्त गरिएको छ, सभापति लामिछानेले उहाँहरू सबैलाई धन्यवाद दिनुभएको छ।’
खरेलका अनुसार लामिछानेले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्नुपर्ने धारणा बैठकमा राखेका थिए।
‘हाम्रो राजनीतिक र राष्ट्रिय सहमति कायम गरेर जानुपर्छ भन्नेमा जोड दिनुभएको छ,’ खरेलले भने।




















