काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बोल्दाबोल्दै आफ्नै सिटमा ढलेका नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्कालाई वीर अस्पताल भर्ना गरिएको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा भोटेकोसी बाढी, खोज तथा उद्धार र राहत व्यवस्थापनका विषयमा सांसदहरूले धारणा राखिरहेका थिए। सांसद खड्काले पनि बैठकमा बोल्दै प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका थिए।
त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद सोम शर्माले बोलिरहेका बेला खड्का आफ्नै सिटमा अचानक ढलेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले शर्मालाई बोल्न रोकेका थिए।
अन्य सांसदहरूले खड्कालाई तत्काल सम्हालेका थिए। उनको संसद् सचिवालयमै स्वास्थ्य परीक्षण गरिएको थियो।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार स्वास्थ्य परीक्षणका क्रममा खड्काको उच्च रक्तचाप देखिएको थियो। उनको अवस्था सामान्य रहेको पनि गिरीले जानकारी दिए।
थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि उनलाई वीर अस्पताल लगिएको हो।




















