काठमाडौं । सरकारले रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी आएको १३औँ दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार राष्ट्रिय शोकका दिन सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
भोटेकोसी बाढीमा ठूलो जनधनको क्षति भएको र अझै पनि ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेका बेला सरकारले मृतकको सम्मान तथा शोक व्यक्त गर्न राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाइने
यसैगरी सरकारले भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सरकारले सहिद घोषणा गरिसकेको छ।
सरकारले जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदासमेत दिने निर्णय गरेको छ।




















