काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसको उद्धारका लागि कुनै विशेष प्रविधि आवश्यक नरहेको बताएका छन्।
भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीबाट भएको क्षति तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग सिंहदरबारमा भेटवार्ता गर्दै घिसिङले पर्याप्त उपकरण घटनास्थलमा पुर्याउन सके उद्धार प्रभावकारी बनाउन सकिने बताएका हुन्।
उज्यालो नेपाल पार्टीका पदाधिकारीसहित प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका घिसिङले केही दिनअघि आफूले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दा देखेका समस्या र समाधानका उपायबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए।
प्रधानमन्त्री शाहले विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका मानिसको उद्धारबारे चासो राखेको घिसिङले जानकारी दिए।
‘मुख्यगरी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने भन्नेबारे उहाँको जिज्ञासा र चासो थियो। त्यसबारे हामीले बुझेका र गर्नुपर्ने कामहरू उहाँसमक्ष राखेका छौं,’ घिसिङले भने।
उनका अनुसार प्रधानमन्त्री शाहले सुरुङमा फसेकाहरूको उद्धारका लागि आवश्यक सबै स्रोतसाधन परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्। देशभित्र उपलब्ध स्रोतसाधनले नपुगे विदेशबाट समेत आवश्यक उपकरण ल्याएर उद्धारलाई प्रभावकारी बनाउने प्रधानमन्त्रीले बताएको घिसिङले जानकारी दिए।
सुरुङ उद्धारका लागि विशेष प्रविधि आवश्यक रहेको भन्ने धारणासँग भने घिसिङ सहमत छैनन्। उनका अनुसार मुख्य समस्या प्रविधिको भन्दा पनि आवश्यक उपकरण घटनास्थलसम्म पुर्याउन नसक्नु हो।
‘विशेष प्रविधि भन्ने त केही पनि हुँदैन। कामैले गर्ने हो। हामीले घटनास्थलमा आवश्यक उपकरणहरू लैजानुपर्यो। उद्धार टोली हुनुपर्यो। टिमले मात्रै नपुग्ने भएकाले पर्याप्त उपकरण पुग्नुपर्यो,’ घिसिङले भने।
उनले सुरुङभित्र जमेको गेग्रान तथा ढुंगा हटाउन पर्याप्त उपकरण र दक्ष उद्धार टोली परिचालन गर्न सके उद्धार सम्भव हुने बताए।
‘मुख्य समस्या भनेकै त्यहाँ उपकरण पुर्याउन गाह्रो भएकाले हो,’ घिसिङले भने, ‘पर्याप्त उपकरण त्यहाँ पुर्याएर सुरुङमा जमेको गेग्रान, ढुंगा हटाउँदै उद्धार गर्नुपर्छ। यसका लागि कुनै विशेष प्रविधि आवश्यक पर्दैन।’




















