हेटौँडा । मकवानपुरबाट काठमाडौँ जाने पुरानो मार्गका रुपमा रहेको कान्तिलोकपथमा यो वर्ष आएको अविरल वर्षाले करीब रु ३० करोडको क्षति पु¥याएको छ । ६० वर्षअघि निर्माण प्रारम्भ भएको लोकपथ निर्माणको काम बर्सातको कारण क्षति पुगेपछि निर्माण सम्पन्न हुन अझ समय लाग्ने भएको छ ।
हालसम्म सडकको ७९ किलोमिटरमध्ये ४५ किलोमिटर कालोपत्र भइसकेको छ । असार र साउन महीनामा आएको वर्षासँगै कान्तिलोकपथको निर्माण चालू आवमा पनि नसकिने भएको छ ।
दशैँसम्म ठूला सवारी चलाउने लक्ष्य लिइए पनि वर्षाका कारण क्षति पुगेपछि त्यो लक्ष्य पूरा नहुने निश्चित भएको कान्तिलोकपथ आयोजनाका प्रमुख विनोद सापकोटाले बताउनुभयो । उहाँका अनुसार चालू आव ०७६÷७७ मा यो सडकमा कठिन चट्टाने पहिरो रहेकाले पाँच किलोमिटरबाहेक सबै खण्डमा कालोपत्र सकिनेछ । बाँकी पाँच किलोमिटर खण्डमा पनि सहज खालको ट्र्याक बनाएर अर्को आर्थिक वर्षमा आयोजनाको काम टुङ्ग्याइने उहाँले राससलाई बताउनुभयो ।
गत आवमा नै सम्पन्न गर्ने उद्देश्य रहेको भए पनि बर्सातको कारण सडकमा ठूलो क्षति भएपछि निर्माण सम्पन्न हुन अझै केही समय लाग्ने जनाइएको छ । विभिन्न स्थानमा ठूलो पहिरा जानाका साथै सडक भासिएको कारण तोकिएको समयमा नै काम सम्पन्न गर्न कठिन भएको आयोजनाका प्रवक्ता अमीन्द्र खड्काले बताउनुभयो । वर्षाले क्षति गरेको कारण यस वर्ष लागेको ठेक्काबाहेकको काम गर्न नै करीब ३० करोड खर्चनुपर्ने देखिएको खड्काको भनाइ छ ।
यो आवमा ठूला मालवाहक र यात्रुवाहक सवारीलाई सञ्चालन योग्य बनाउने आयोजनाले लक्ष्य लिएको छ । यो सडकका लागि ०१४ सालमा ट्र्याक खोल्न शुरु गरेर ०१६ मा काम सकिएको थियो । तर त्यसपछि बागमती खोलामा पुल नबन्दा र केही चट्टाने भिरको क्षेत्रमा सडकको अवस्था नसुधारिएको कारण करीब ५० वर्ष यो सडक अलपत्र नै रहेकामा करीब एक दशकयता चासोपूर्वक निर्माणमा सरकार जुटेको हो । त्यसअनुसार निर्माण शुरु भएको ६० वर्षपछि यो राजमार्गमा कालोपत्र शुरु भएको हो । हालसम्म आयोजनाले मकवानपुरतर्फ ३० र ललितपुरतर्फ १५ किलोमिटर खण्डमा कालोपत्र गरिसकेको छ । अघिल्लो वर्षको दशैँमा नै सडकको निर्माण सक्ने भनिए पनि विस्फोटक पदार्थ अभावको कारण ढिलाइ भएको थियो । हाल आयोजनाले चट्टानयुक्त सडक क्षेत्रका लागि दुई वटा छुट्टै ठेक्का लगाएर ट्र्याक सहज बनाउने काम गरिरहेको छ । अन्य ट्र्याक खुलिसकेका खण्डमा कालोपत्र गरिँदैछ । ०६४ मा ब्युँतिएको यो आयोजनाले हालसम्म दुई अर्ब ५१ करोड खर्च गरेको आयोजना प्रबक्ता खड्काले जानकारी दिनुभयो ।
काठमाडौँबाट कान्ति लोकपथको प्रस्थान विन्दु ललितपुरको सातदोबाटो हो । हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्मको यो सडकलाई विस्तार गरी ८ दशमलव ५ मिटर चौडा गर्न काम भइरहेको छ ।
कोरियाको सरकारी कम्पनीले लोकपथको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको थियो । मकवानपुरको सिमात, ललितपुरको काल्चे, झाँक्री डाँडालगायत क्षेत्रका सडकलाई फराकिलो बनाउन विस्फोटक पदार्थबाट पहरा फोडिएको आयोजनाले जनाएको छ । हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँ आउने २२६ र पालुङ हुँदै आउने १३६ किमी, हेटौँडा–दक्षिणकाली–काठमाडौँ सडकको विकल्पका रुपमा कान्तिलोकपथलाई हेरिएको छ । २०१६ सालदेखि नै एक लेनको कान्तिलोकपथमा सवारी चल्न शुरु गरे पनि ललितपुर र मकवानपुरको सीमा बागमती नदीमा पुल नबन्दा समस्या भएको थियो । आयोजनाको ललितपुरतर्फको केही भागमा अझै बाटो फराकिलो बनाउनुपर्ने काम बाँकी नै छ । वर्षा सकिएसँगै निर्माणमा तीव्रता दिइने बताइएको छ । रासस