काठमाडौँ, लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार भन्ने मूल नाराका साथ आज तारकेश्वरमा पनि १०९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा नगरभित्रका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बाहोराले हरेक विधामा आबद्ध महिलाले आफ्नो कर्तव्य र अधिकारलाई बुझ्नुपर्ने बताउनुभयो ।
नगर उपप्रमुख भवानी डोटेलले श्रीमान् र श्रीमतीको समान व्यवहार भएमा मात्र एक अर्काेप्रतिको सम्मान हुन्छ भन्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदीले महिला हिंसा आआफ्ना घरबाट नै हटाउनुपर्ने बताउनुभयो ।
महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले समाजमा महिला मात्र नभई पुरुष र तेस्रोलिङ्गीमाथि हुने हिंसा पनि लैङ्गिक हिंसा भएको जिकिर गर्नुभयो । दिवसकै अवसरमा बिहान शेषमतीबाट निकालिएको पदयात्राका सहभागीले जहाँ महिलाको हित त्यहाँ समाजको जीत, समाज विकासमा समान पहुँच, छोरीलाई दाइजो होइन शिक्षा दिर्आैँ, उठौँ जागौँ, आफ्नो अधिकार आफैँ खोजौँलगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए । रासस