सरकारले कोटेश्वर चोकमा हुने जामको जामको समस्या घटाउन भन्दै विकल्पिक सडकको प्रयोग गर्ने तयारी गरेको छ । सडक विभागको पहलमा जडिबुटीबाट रिंगरोडको बालकुमारीतर्फ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न दिन लागिएको हो ।
जडिबुटीबाट प्रवेश गरी हिमालयन आँखा अस्पताल हुँदै बालकुमारी निस्कने सडकलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन लागिएको हो । यो मार्गको बीचमा पर्ने मनोहरा खोलामा बेलिब्रिज हालिँदैछ ।
यो सडकमा हाल रहेको पुलको क्षमता कमजोर भएकाले बेलिबि्रज जडान गर्न लागिएको हो । पुल कमजोर भएका कारण ठूला सवारीले यो बाटो प्रयोग गर्न सकेका छैनन् । त्यसैकारण ठूला सवारी आवातजावत गर्न सक्ने गरी यो मार्ग विस्तारको तयारी भएको हो ।
हाल काठमाडौं प्रवेश गर्न कोटेश्वर चोक प्रयोगको विकल्प छैन । अब बेलिबि्रज जडानपछि सवारीले सोझै विनाजाम बालकुमारीतर्फ आउन पाउनेछ । बानेश्वरतर्फ आउने सवारीले बालकुमारीबाट बागमती करिडोर प्रयोग गर्न सक्ने छन् ।
कलंकी कोटेश्वर खण्डको विस्तार भएपछि काटेश्वरमै आएर सवारी थुप्रिने समस्या छ । यस्तै काठमाडौंबाट बिपी राजमार्ग प्रयोग गर्ने सवारीले पनि यहाँ चाप बढाएका छन् ।
कोटेश्वरमा जामको समस्या भयावह छ । कोटेश्वरको जाम घटाउन सरकारले सुरुङमार्गको योजना पनि ल्याएको छ । तर, अध्ययन हुनै बाँकी छ ।