काठमाडौँ, महानगरीय प्रहरी परिसर काठमाडौँले यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने आठ बिचौलियालाई पक्राउ गरेको छ ।
परिसरको टोलीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने झापाका कृष्णप्रसाद थपलिया, अपार रिजाल, किरण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरका प्रकाश तण्डुकार, कन्चन राई, पवन तामाङ र काठमाडौँका बालकृष्ण खत्रीलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता मोहनकुमार थापाले सेवाग्राहीलाई सिधै कार्यालय जान नदिई दश गुणा पैसा लिई काम गरिदिने गरेको गुनासो गरेपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रवक्ता थापाका अनुसार सेवाग्राहीलाई जबर्जस्ती तानिरहेको र कार्यालय जान अवरोध गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध सार्वजनिक अपराधमा म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।