काठमाडौँ, विषयगत चार मन्त्रालयका मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।
विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थिति भएको थिएन । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतको छलफल चलिरहेको थियो ।
नेपाली काँग्रेसका अमरेशकुमार सिंहले विषयगत मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थित नभएकाले बैठकको कुनै औचित्य नहुने जनाउँदै सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।