राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पु¥याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताएकी छन् ।
रामप्रसाद राई जन्मजयन्तीका अवसरमा रामप्रसाद राई प्रतिष्ठानको आयोजनामा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’मा उनले राईलगायत राजनीतिक परिवर्तनमा योगदान पु¥याएकालाई राज्यले उचित सम्मान गर्नुपर्ने विचार व्यक्त गरेकी हुन् ।
राईको जन्मस्थललाई सरकारले रामप्रसाद राई गाउँपालिका राखेर सम्मान दिएको उल्लेख गर्दै उनले स्वतन्त्र सेनानीका रुपमा रहेका राईको योगदानलाई सरकारले विशेष सम्मान दिनुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले विसं २००७ को राजनीतिक परिवर्तन ल्याउन राईले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले अहिलेको लोकतान्त्रिक गणतन्त्र ल्याउने श्रेय राईलाई पनि जाने बताइन् ।
‘मुलुकका लागि योगदान गरेको व्यक्तिको खोज अनुसन्धान गर्नुपर्छ’ उनले भनिन्, ‘मुलुकका लागि योगदान गरेका र ओझेलमा परेका व्यक्तिको साहित्य र लेखनबाट खोज अनुसन्धान हुनु राम्रो हो ।’
कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विगतको सरकारले राईलाई राम्रोसँग चिन्न नसकेको भन्दै अबको संघीय लोकतान्त्रिक सरकारले चिन्ने बताउँदै उहाँले विसं २००७ मा पु¥याएको योगदानका आधारमा राज्यले सम्मान गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नयाँ नेपालमा राईजस्ता योद्धाको सम्मान गरिने भन्दै मुख्यमन्त्री राईले प्रदेश मन्त्रिपरिषद् बैठकले राईको जन्मथलोलाई नमूना गाउँ बनाउने निर्णय गरेको जानकारी गराए ।
कार्यक्रममा संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विसं २००७ को परिवर्तन ल्याउनका लागि रामप्रसाद राईले पूर्वबाट महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले कविता महोत्सवमा उत्कुष्टलाई पुरस्कार वितरण गरिन् । महोत्सवमा ऐश्वर्य श्रेष्ठ प्रथम, सीता भट्टराई द्वितीय र बलिराज खम्बु, सागर घिमिरे र धर्मानन्द भट्ट तृतीय भएका छन् । कार्यक्रममा राष्ट्रपति भण्डारीलाई प्रतिष्ठानकी अध्यक्ष तारादेवी राईले सम्मान गरेकी थिइन् ।