अदालतसमक्ष आत्मसमर्पण गरेका टीकापुर घटनाका मुख्य आरोपित रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका छन् । उनलाई धनगढी कारागारमा राखिएको छ ।
टीकापुर घटनापछि फरार चौधरीले सोमबार बिहान आत्मसमर्पण गरेका थिए । त्यसलगतै न्यायाधीश परशुराम भट्टराईको इजलासले भएको बयानमा चौधरीले आफूमाथि लागेको अभियोग अस्वीकार गरेका छन् ।
बहसका क्रममा उनका वकिलले सांसदको चुनाव जितेका उनलाई तारेखमा छाड्नुपर्ने तर्क गरेका थिए । चौधरीले अभियोग इन्कार गरेपनि लक्ष्मण थारु, लाहुराम चौधरीलगायतका अभियुक्तले उनकै नेतृत्व र योजनामा घटना भएको हो भनी बयान दिएको तथा सरकारी वकिलले पेश गरेको प्रतिवेदनका ‘हृदयविदारक तथ्य’ आधारमा चौधरी कसुरदार छैनन् भन्न नसकिने भन्दै अदालतले थुनामा राख्न आदेश दिएको हो ।
त्यस्तै, आदेशमा भनिएको छ, ‘जनमत प्राप्त गर्नुपूर्वको फौजदारी क्रियाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन ।’
सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारी, सहन्याधिवक्ता भानदेश जोशी, नवीन भट्टले बहस गरेका थिए ।
जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता राजेन्द्र बहादुर साउदले बहस गरे । चौधरीको तर्फबाट अधिवक्ता गंगाराम पाध्यय, मिलनकुमार राई, गजेन्द्रबहादुर केसी र नाथीराम महतोले बहस गरेका थिए ।
फरार रहेकै अवस्थामा चुनाव लडेका चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । राजपाबाट उम्मेदवार बनेका उनी झण्डै २१ हजार मतान्तरले विजयी बनेका थिए ।
७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको भोलिपल्ट चौधरीको रेडियो तथा रेष्टुराँका साथै थारु बस्तीहरुमा तोडफोड तथा आगजनी पनि भएको थियो ।
घटनाको मुख्य योजनाकार भएको दाबी गर्दै चौधरीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा परेको छ । चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।




















