राष्ट्रिय समाचार समिति ले ५७ औँ वार्षिकोत्सवका अवसरमा प्राध्यापकद्वय पी खरेल र रामकृष्ण रेग्मीलाई सम्मान गरेको छ ।
वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा राससका पूर्वअध्यक्ष प्रा खरेल र पूर्वप्रमुख समाचारदाता प्रा रेग्मीलाई सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सम्मान गर्नुभयो ।
सो अवसरमा उत्कृष्ट स्थानीय समाचारदाता (स्ट्रिन्जर)तर्फ प्रदेश नं १ बाट केदार मगर (खोटाङ), प्रदेश नं २ बाट गोपाल बराल (बर्दिबास, महोत्तरी), प्रदेश नं ३ बाट रामहरि न्यौपाने (नुवाकोट) र प्रदेश नं ४ बाट सन्देश पौडेल (लमजुङ) लाई पुरस्कार प्रदान गरियो ।
त्यसैगरी प्रदेश नं ५ बाट उमा केसी (लिवाङ, रोल्पा), प्रदेश नं ६ बाट नरबहादुर रिजाल (दैलेख), प्रदेश नं ७ बाट राजेन्द्रप्रसाद पनेरू (कञ्चनपुर) र काठमाडौँ उपत्यकाबाट कल्पना पौडेल (काठमाडौँ) लाई पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट आलेख समाचारतर्फ काठमाडौँ उपत्यकाबाट कुमारप्रसाद चौलागाईं (रासस केन्द्रीय कार्यालय, ‘आङ्गिक क्याम्पसमा आन्तरिक लेखा परीक्षणमै अनियमितता’) लाई प्रदान गरिएको छ ।
त्यसैगरी अजयकुमार साह (स्थानीय समाचारदाता, धनुषा, ‘निधिको विरासतमाथि महतोको चुनौती) र अन्तर्राष्ट्रिय समाचार शाखा उत्कृष्ट आलेखतर्फ अन्तर्राष्ट्रिय समाचार शाखाका वरिष्ठ सम्पादक मोहिनी मिश्र (रिसाल), ‘अब ‘तीन तलाक’ ले रुने छैनन् मुस्लिम महिला’) लाई प्रदान गरिएको छ ।
उत्कृष्ट तस्वीरतर्फ रोशन सापकोटा (काठमाडौँ), सीताराम अधिकारी (स्थानीय समाचारदाता, धादिङ) र उत्कृष्ट अडियो रिपोर्टतर्फ विनोदसिंह विष्ट (स्थानीय समाचारदाता बैतडी) लाई प्रदान गरिएको छ ।
राससको भौतिक सम्पत्तिको संरक्षण र संवद्र्धनमा विशेष भूमिका निर्वाह गर्ने मोहम्मद सदरुल (प्रमुख, रासस भद्रपुर कार्यालय, चन्द्रगढी, प्रदेश नं १), वीरेन्द्रनारायण कर्ण (प्रमुख, रासस वीरगञ्ज कार्यालय, प्रदेश नं २), आशाराम चौधरी (स्थानीय समाचारदाता, रासस लहान, सिरहा) लाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ ।
त्यसैगरी समितिमा २० वर्ष अविच्छिन्न रुपमा स्थायी सेवा पूरा गर्ने कर्मचारीलाई वार्षिकोत्सवका उपलक्ष्यमा दीर्घ सेवा पदकसहित पुरस्कृत प्रदान गरिएको छ । दीर्घ सेवा प्राप्त गर्नेमा दीपराज सन्याल (प्रमुखः अङ्ग्रेजी समाचार शाखा, रासस केन्द्रीय कार्यालय), मनोज कार्की (कार्यकारी सम्पादक, अङ्ग्रेजी सम्पादन शाखा, रासस केन्द्रीय कार्यालय) र मनोज दाहाल (उपसमाचारदाता, रासस विराटनगर कार्यालय, प्रदेश नं १) हुनुहुन्छ ।
त्यसैगरी चन्द्रलाल श्रेष्ठ (सवारी चालक, पाँचौँ, रासस केन्द्रीय कार्यालय) र दानबहादुर साउद (कार्यालय सहयोगी, रासस धनगढी कार्यालय, प्रदेश नं ७) लाई प्रदान गरिएको छ । (रासस)




















