लहान, नयाँ व्यवस्थाअनुसार माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएपछि त्यसलाई कसरी सञ्चालन गर्नेमा सिरहाका अधिकांश स्थानीय तहका प्रमुख र उपप्रमुखहरु अन्योलतमा परेका छन् ।
संघीय व्यवस्थाअनुसार स्थानीय तहलाई माध्यमिक तहसम्मका शिक्षा सञ्चालनको जिम्मा र परीक्षा सञ्चालनको जिम्मा परीक्षा बोर्डलाई दिएपछि ती दुवैको बीचमा कसरी सहकार्य गरेर अघि बढ्नेमा अन्योलता बढेको हो ।
आगामी चैत महिनापश्चात् हालको जिल्ला शिक्षा कार्यालयसमेत खारेज भएपछि स्थानीय तह र परीक्षा बोर्डको बीचमा कसले समन्वय गर्ने हो त्यसको कल्पना नगरिएकाले आफूहरु अन्योलमा परेको सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “शिक्षा सञ्चालन र परीक्षा सञ्चालनको जिम्मा फरकफरक निकायलाई दिएपछि ती दुवैको बीच कसले समन्वय गरिदिने, पाठ्यक्रम निर्धारण गर्दा कसको सल्लाह लिने भन्नेमा हामी अहिले पनि अन्योलमा छौँ ।”
आगामी चैतमा एसइईको परीक्षा आउनै लागेकाले तत्काल अहिलेको अन्योलता अन्त्य गर्नुपर्ने बताउँदै सिरहाको गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले माध्यमिक तहसम्मको शिक्षा सञ्चालन गर्ने र परीक्षा सञ्चालन गर्ने दुवै निकायलाई एकापसमा जोड्न जिल्लामा संयन्त्र बनाउनुपर्ने बताउनुहुन्छ ।