मंसिर १० र २१ सम्पन्न प्रदेशसभा निर्वाचनका समानुपातिक सांसदहरुलाई निर्वाचन आयोगले आज निर्वाचित भएको प्रमाणपत्र वितरण गर्दैछ ।
प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ३३० सांसदले यसअघि नै प्रमाणपत्र पाइसकेका छन् । तर, प्रदेश प्रमुखको नियुक्तिमा विलम्ब हुँदा समानुपातिकतर्फका २ सय २० सांसद प्रमाणपत्र पाउनबाट वञ्चित हुँदै आएका थिए । प्रदेश प्रमुखको नियुक्ति भएसँगै आयोगले शुक्रबार विजयी प्रदेशसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र दिन लागेको हो ।
निर्वाचित उम्मेदवारहरुलाई प्रमाणपत्र लिन यसअघि नै सूचनामार्फत आग्रह गरेको आयोगले शुक्रबार बिहान १० बजेबाट प्रमाणपत्र वितरण गरिने जानकारी दिएको छ ।
संविधानअनुसार, निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्छ । प्रदेश प्रमुखले निर्वाचन परिणाम आयोगबाट पाएपछि सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।