उदयपुर । उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केकटाकेटीले आगो बाल्ने र खेल्ने गरेपछि घरको खरको छानो सल्केर आगलागी सुरु भएको थियो ।
विकको घरबाट सुरु भएको आगो अन्य पाँचघरमा पनि सल्केपछि ती घर आगालागीबाट जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । आगलागीबाट ६५ वर्षीय रणबहादुर विकको तीन लाख २० हजार बराबरको अन्न तथा लत्ताकपडा नष्ट भएको छ भने अर्का छिमेकी ७० वर्षीय कर्णबहादुर विकको पनि तीनलाख २० हजार क्षति भएको प्रहरीले बताएको छ ।
यस्तै, स्थानीय ३५ वर्षीय मेघबहादुर विकको तीन लाख ६० हजार, अर्का स्थानीय पर्शुराम विकको रु तीन लाख ७० हजार र चक्रबहादुर विकको तीन लाख ७० हजार बराबरको लत्ताकपडा अन्न नगदसमेत क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
आगलागी बढ्दै जान थालेपछि पाँच किलोमिटर दूरीमा रहेको प्रहरी चौकी, भुटारबाट प्रहरीको टोली पुगेर स्थानीयको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियो ।




















