कञ्चनपुर, कञ्चनपुरको भीमदत्तनगरपालिका–११ भुजेलाका कुले विकले महाकाली नदीको बगरमा बालुवा चाल्दै आएको दुई दशक बितेको छ । दश वर्षको उमेर छँदादेखि नै अभिभावकसँगै बालुवा चालेर बिक्री गरेर आएको पैसाले घर खर्च चलाउँदै आएका उहाँ पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्न निकै हौसिनु भएको छ ।
महाकाली नदीको बाढीले घरबारविहीन बनाइएका परिवारको पुनः स्थापन गर्ने उम्मेदवारलाई उहाँले मतदान गर्ने सोच बनाउनु भएको छ । बालुवा चालेर जीविका धान्दै आए पनि कसैले अहिलेसम्म हाम्रा पीडा बारे बुझेका छैनन् उहाँले भन्नुभयो, “घरबासका लागि जग्गा, रोजगारीको उचित व्यवस्था र स्वास्थ्योपचारको व्यवस्था गर्न उत्सुक देखिएका उम्मेदवारलाई मतदान गर्छु ।”
आधा उमेर नदीको बगरमै बित्यो, आर्थिक अवस्था कमजोर हुँदा बगरको बालुवालाई कमाउने साधन बनाउनु प¥यो उहाँले भन्नु भयो, “हामीले त दुःख काट्यौँ, काट्याँै पछिका सन्ततीले दुःख काट्न नपरोस् भन्ने सोचेका थियौँ तर घरको चुलो नै नबल्ने भएपछि आफूसँग बालुवा चाल्ने काममा लगाउनु परेको छ ।” विद्यालय पढ्दै आएका बालबालिकालाई बालुवा चाल्न लगाउने कार्य रहर नभएर बाध्यता हो उहाँसँगै नदीकै बगरमा बालुवा चाल्दै आउनुभएकी पुनम सुनारले भन्नु भयो, “घरको आर्थिक अवस्थाले बालुवा चाल्न बाध्य बनाएको छ ।”
“व्यवसाय गर्नका लागि पैसा छैन जसले बालुवा चाल्नेहरुको समस्या समाधान गर्ने योजनासहित मत माग्न आउँछ उसैलाई हाम्रो भोट जान्छ”, उहाँले भन्नुभयो । “नदीमा बाढी आएका बेला पीडामा मलम लगाउन धेरै आउने गरे पनि नदी नियन्त्रण गर्न र घरबासविहीन भएका परिवारको सोधीखोजी गर्न र पुनः स्थापनका कार्यअगाडि बढाउन कोही आउँदैनन् ।” उहाँले भन्नुभयो ।
महाकाली नदीको बगरमा बालुवा चाल्ने साठी जना परिवार हिउँदमा नदीकै बगरमा झुपडी बनाई बस्दै आएका छन् । बर्सात शुरु हुनुअगावै सबैजना नदीको बाढी नलाग्ने ठाउँमा झुपडी बनाई बस्ने गरेका छन् । बालुवा चालेर रु ५०० देखि रु एक हजारसम्म एक परिवारले कमाउने गर्दछन् । बालुवा बिक्री नभएका बेला कति दिन भोकै बस्नु परेको पीडा धेरैको छ ।