एक्सन फर क्यान्सर रिलिफ सोसाइटी संस्थाले विभिन्न जिल्लाका बालबालिकाको संरक्षणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्दैछ ।
नेपालका विभिन्न जिल्लाबाट दैवी विपत्तिबाट पीडित र बालअधिकारबाट वञ्चित बालबालिकाको भविष्य उज्वल पार्नका लागि संस्थाले ३१ विद्यार्थी जम्मा गरि रेखदेख गरिरहेको छ ।
उक्त बालबालिकाहरुका लागि बानेश्वर— १० देवीनगरस्थित बि।जि।एस।एस अंग्रेजी आवासीय विद्यालयबाट पठनपाठनको व्यवस्था उपलब्ध गराइरहेको एक्सन फर क्यान्सर रिलिफ संस्था की अध्यक्ष राधिका दाहालले बताइन् । त्यस्तै गास, बास, कपास लगायतका अन्य सुविधा भने एक्सन फर क्यान्सर रिलिफ संस्थाले बेहोर्दै आएको छ ।
देउघाटस्थित लोकसेवा कल्याण प्रतिष्ठान र एक्सन फर क्यान्सर रिलिफ संस्था मिलेर श्रीमद्भागवत आयोजना गर्न लागेको हो । “ लोकसेवा कल्याण प्रतिष्ठानले ५० जना बालिकाहरुलाई शिक्षा, स्वास्थ्य तथा सम्पूर्ण सुविधाहरु उपलब्ध गराउँदै आइरहेको छ ।” अध्यक्ष दाहालले भनिन् । “त्यहाँका साना बालिका पनि भागवत पढ्न जान्दछन् ।”
एक्सन फर क्यान्सर रिलिफ संस्थाले विभिन्न दैवी विपत्ति भुकम्प, बाढी, पहिरो तथा अन्य कारणबाट प्रभावित बालबालिकाहरुलाई गास, बास र कपासको साथै संस्कार सहितको शिक्षा, स्वास्थ्य सेवा प्रदान गर्दै व्यवस्थित रुपले आवासीय सुविधासहित पालन पोषण गर्ने संकल्प लिएर विगतका वर्षदेखि ३१ जना बालबालिकालाई संरक्षण गर्दै आएको छ ।
राज्य तथा अन्य संस्थाले नदेखेको ठाउँको बालबालिकालाई उनीहरुको अधिकार अनुसारको शिक्षा उपलब्ध गराउने उद्देश्यले यो कार्य गरिएको दाहालले बताइन् । उनले बालबालिकालाई संस्कार र संस्कृति सहितको शिक्षा प्रदान गर्दै धार्मिक एवम् जातिय सद्भाव जागृत गराउादै राष्ट्रप्रति नैतिक र उत्तरदायी बहन गर्ने नागरिक तयार गराउने उद्देश्यले यो कार्य गरेको बताइन् ।