क्रान्तिकारी किसान नेता भीमदत्त पन्तको ६५ औँ स्मृति दिवसका अवसरमा कञ्चनपुरमा मंगलबार छ हजार ५०० विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् ।
राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले स्मृति दिवसका अवसरमा कृष्णपुर, शुक्लाफाँटा, भीमदत्त, बेलौरी, बेदकोट नगरपालिका र बेल्डाँडी, लालझाडी गाउँपालिकामा गरी छ हजार ५०० आँप, कागती, अम्बा, डाले घाँस, बकैना, लिप्टीस, सिसम, खयर, सगुनलगायतका बोट बिरुवा रोपेको हो ।
मञ्चमा आबद्ध ४६ वटा गाउँ मञ्चमा आबद्ध सदस्यमार्फत ताल तलैया, खानेपानीका धारा, मुहान, सार्वजनिकस्थल सरसफाइको कार्यसमेत गरेको मञ्चका संयोजक रामबहादुर चुनाराले बताउनुभयो ।
मञ्चले यसै अवसरमा कृष्णपुर, शुक्लाफाँटा, भीमदत्त, बेलौरी, बेदकोट नगरपालिका र बेल्डाँडी, लालझाडी गाउँपालिकामा भीमदत्त पन्तको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि दिने कार्यक्रमसँगै शहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठान कञ्चनपुरसँग सहकार्य, समन्वय गरी भिनपाको पार्कमा निर्मित भीमदत्त पन्तको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि दिने कार्य गरेको छ ।
यसै अवसरमा शुक्लाफाँटा नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख दिलबहादुर ऐरले शहिद पन्तका कार्ययोजना अधुरा नै रहेकाले पूरा गर्नका लागि मार्गचित्रसहित अगाडि बढ्नुपर्ने बताउनुभयो । नेता पन्त आदर्शवादी नेता रहेको चर्चा गर्दै उहाँले स्मृति दिवसलाई कागजमा मात्रै सीमित नराखी उहाँले देखाएको मार्गमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
मञ्चका केन्द्रीय सदस्य नन्दा जोशीले शहिद पन्तले देखेको सपना झैँ भूमिसुधार लागू हुनुपर्ने बताउनुभयो । थोरै जग्गा भएका किसानको जग्गाको नापनक्साको कार्य निःशुल्करुपमा अगाडि बढाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।