काठमाडौं । इलोन मस्कको कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली पुनःप्रयोग गर्न मिल्ने रकेट ‘स्टारशिप’लाई पहिलोपटक पृथ्वीको कक्षमा पुर्याएर सफलतापूर्वक पृथ्वीमा फर्काएको छ।
२८ सेप्टेम्बरमा गरिएको स्टारशिपको १४औँ परीक्षण उडानका क्रममा २६ वटा नयाँ पुस्ताका ‘स्टारलिंक भी३’ स्याटेलाइट पृथ्वीको कक्षमा तैनाथ गरिएको थियो। नेपाली समयअनुसार साँझ साढे ६ बजे अमेरिकाको टेक्सासस्थित स्टारबेसबाट स्टारशिप प्रक्षेपण गरिएको थियो।
यसअघिका स्टारशिप परीक्षण उडानहरू सब–अर्बिटल ट्राजेक्टोरीमा सीमित थिए। तर १४औँ उडानमा भने स्टारशिप पहिलोपटक पृथ्वीको कक्षमा प्रवेश गरेको हो। यसलाई स्पेसएक्सको स्टारशिप विकास कार्यक्रमको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।
योजनाभन्दा अघि नै मिसन समाप्त
प्रारम्भिक योजनाअनुसार स्टारशिपलाई करिब १० घण्टासम्म पृथ्वीको कक्षमा राख्ने तयारी थियो। तर मिसनका क्रममा गरिएको समीक्षा तथा प्राविधिक अवस्थाको मूल्यांकनपछि स्पेसएक्सको टोलीले उडान अवधि छोट्याउने निर्णय गरेको थियो।
उडान सुरु भएको करिब २ घण्टा १२ मिनेटपछि स्टारशिपको ‘डी–अर्बिट बर्न’ पूरा गरिएको थियो। त्यसपछि करिब तीन घण्टाको उडानपछि स्टारशिप प्रशान्त महासागरमा अवतरण गरेको थियो।
स्पेसएक्सका अनुसार यसपटक समुद्रमा भएको अवतरण अघिल्ला परीक्षणको तुलनामा सहज थिएन। अवतरणपछि लाइभस्ट्रिममा केही समय ठूलो आगोको गोला देखिएको थियो।
उडानका क्रममा इन्जिनमा देखिएको समस्याका कारण स्टारशिपलाई कक्षमा पठाउने वा नपठाउने विषयमा इन्जिनियरहरूबीच केही समय अन्योलसमेत भएको थियो। तर अन्ततः मिसनलाई अघि बढाउने निर्णय गरिएको थियो।
२६ नयाँ पुस्ताका स्टारलिंक स्याटेलाइट
यस मिसनको अर्को महत्वपूर्ण पक्ष नयाँ पुस्ताका २६ वटा ‘स्टारलिंक भी३’ स्याटेलाइटको प्रक्षेपण हो। यी स्याटेलाइटलाई पृथ्वीको कक्षमा सफलतापूर्वक तैनाथ गरिएको छ।
स्पेसएक्सले नयाँ पुस्ताका यी स्याटेलाइटले विश्वव्यापी स्टारलिंक इन्टरनेट नेटवर्कको क्षमता उल्लेख्य रूपमा बढाउने अपेक्षा गरेको छ। कम्पनीका अनुसार एउटा स्याटेलाइटले करिब १ टेराबिट प्रतिसेकेन्ड (टीबीपीएस) सम्मको डेटा क्षमता थप्न सक्छ। त्यसअनुसार २६ वटा स्याटेलाइटले सैद्धान्तिक रूपमा करिब २६ टीबीपीएस क्षमता थप्न सक्ने बताइएको छ।
स्पेसएक्सले स्टारशिपलाई विश्वकै शक्तिशाली प्रक्षेपण यानका रूपमा विकास गरिरहेको छ। स्टारशिप स्पेसक्राफ्ट र ‘सुपर हेभी’ बुस्टर गरी दुई मुख्य भागबाट बनेको छ। यसको कुल उचाइ करिब ४०३ फिट अर्थात् १२३ मिटर छ।
सन् २०२३ मा पहिलो परीक्षण उडान गरेको स्टारशिप १४औँ उडानसम्म आइपुग्दा पहिलोपटक पृथ्वीको कक्षमा पुगेर फर्किन सफल भएको हो। स्पेसएक्सले भविष्यमा मानिस तथा ठूलो परिमाणमा सामग्री पृथ्वीको कक्षसँगै चन्द्रमा, मंगल ग्रह र त्यसभन्दा परसम्म पुर्याउन सक्ने पुनःप्रयोगयोग्य प्रक्षेपण प्रणालीका रूपमा स्टारशिप विकास गरिरहेको जनाएको छ।




















