काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गर्दै सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन्।
प्रकृति र आस्थाको पर्व छठका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वले परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्ने परम्परा बोकेको उल्लेख गरेका छन्।
छठ पर्वले जीवनको गहिरो दर्शन सिकाउने बताउँदै उनले उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्न प्रेरित गर्ने बताएका छन्।
प्रधानमन्त्री शाहले छठ पर्वले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् –
“प्रकृति र आस्थाको महान् पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना!
भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यो पर्व मुख्यतया परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्दै मनाइन्छ।
छठले हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउँछ। जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ। यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ।
चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन नहाय-खाय, दोस्रो दिन खरना, तेस्रो दिन अर्थात् आज साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने गरिन्छ।
सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध छ। छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस्।भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्।
छैठके बहुत रास शुभकामना! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।”




















