नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकास गर्नसके देशकै कायापलट हुने बताउनु भएको छ ।
व्यास नगरपालिका स्थापनापछिको २७ औँ परिषद् एवम् स्थानीय तहको निर्वाचनपछिको प्रथम नगरसभाको आइतबार दमौलीमा उद्घाटन गर्दै उहाँले कृषि, पर्यटन र जलस्रोतको विकास गर्न सके देशमै कायापलट आउने दाबी गर्नुभयो ।
व्यास पराशर एकीकृत पर्यटन विकास योजनालाई गुरुयोजना बनाएर पाइलट प्रोजेक्टको रुपमा अगाडि बढाउन सके समग्र तनहुँ जिल्लाकै विकासमा टेवा मिल्ने पौडेलको भनाइ छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गरेकाले पोखरा र यस आसपासका क्षेत्रमा पर्यटनको उल्लेख्य सुधार हुने उहाँले बताउनुभयो । तनहुँ जिल्लाभित्र समेत पर्यटन र उद्योगको सम्भावना प्रशस्त रहेकाले व्यापारीलाई उद्योगधन्दा र होटल खोल्न पौडेलले आग्रहसमेत गर्नुभयोे ।
स्थानीय तहको चुनावपछि सिंहदरबारको अधिकार गाउँगाउँमा आएको भन्दै उहाँले जनप्रतिनिधिलाई जनताको चाहना अनुरुपको काम गर्न आग्रह गर्नुभयो । रु ५० अर्बमा निर्माण हुन लागेको तनहुँ जलविद्युत् आयोजनाले जिल्लाकै मुहार परिवर्तन गर्ने उहाँले बताउनुभयो ।
सो कार्यक्रममा सांसदहरु ध्रुव वाग्ले, रामचन्द्र पोखरेल, झुलबहादुर आले, पूर्व राज्यमन्त्री अमरराज कैनी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, नेकपा (एमाले)का जिल्ला अध्यक्ष केदार सिग्देल, नेकपा (माओवादी केन्द्र)का नेता अतिन्द्रकेशरी न्यौपाने, नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशीलगायतले विद्युत्, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताउनुभएको थियो ।