काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरेका छन् ।
मेयरमा निर्वाचित भएसँगै साह सिसडोल र बञ्चरेडाँडाको अवलोकनका लागि पुगेका थिए । काठमाडौंको फोहोर व्यवस्थापन नभई कुनै पनि उत्सव नमनाउने घोषणा गरेका साह आज बिहान पनि सिसडोल पुगेका हुन्।
स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिएका छन् ।
मेयर साहले फोहोरबाट मल बनाउने अर्को एउटा सिस्टम राख्ने र ड्रिल गरेर ग्यास निकाल्ने योजना रहेको र त्यसका लागि तीन–चार महिना लाग्नसक्ने बताएका छन् ।
सड्ने र नसड्ने फोहोर छुट्टयाएर विसर्जन गर्ने व्यवस्था मिलाउने र त्यसका लागि जनचेतना जगाउने काम गर्ने पनि बताएका छन् ।
स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरूले मानव र फोहोर एकै ठाउँमा बस्न नसक्ने भन्दै आफूहरुले स्वस्थ्य वातावरणमा बस्न पाउनुपर्ने माग गरेका छन् । आफ्ना माग सम्वोधन गर्नुको सट्टा प्रहरी प्रशासन लगाएर दमन गरिएको भन्दै स्थानीयले मेयर साहसँग गुनासो गरेका छन् ।
स्थानीयको समस्याबारे सुनुवाई गर्न आफूहरु सिसडोल पुगेर फर्किएको उपमेयर डंगोलले बताएकी छिन् ।
स्थानीयको गुनासो सुनेको र महानगरपालिकाका तर्फबाट आफूहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएर फर्किएको डंगोलले बताएकी छिन् ।