मस्को । रुसी सेनाले गरेको बम आक्रमणमा ७ जना युक्रेनीको मृत्यु भएको युक्रेन प्रहरीले जनाएको छ । ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको हमलामा छ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन् । सो हमलामा १९ युक्रेनी हराइरहेका छन् । त्यस्तै, रुसी सेनाले मारियुपोल सहरमा गरेको अर्को हमलामा थप एक जनाको मृत्यु भएको छ ।
रुसी सेनाले रुस र बेलारुसको सीमाबाट आक्रमण गरेको एएफपीले जनाएको छ । केही साताअघि मात्र रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास गरेका थिए । यसैबीच, रुसी सेनाले स्थलमार्गबाट पनि आक्रमण सुरु गरेको विवरणहरुमा जनाइएको छ ।
‘रुसी सेना युक्रेनी सीमा पार गर्यो’
रुसी सैन्य फौजले युक्रेनको सीमा पार गरेको छ । रुसी फौज युक्रेनको पूर्वी क्षेत्र लुहान्सक र खार्किभ तथा उत्तरी चेर्निहिभ र सुमी क्षेत्रमा प्रवेश गरेको युक्रेनी सीमा सुरक्षा सेवा (डीपीएसयू) ले जनाएको छ ।
सीमा प्रवेश गरेर रुसी सेनाले तोप हानेको छ । आक्रमणमा डीपीएसयूका केही सुरक्षाकर्मी घाइते भएका छन् । शत्रुलाई रोक्न सबै कदम चालेको डीपीएसयूले जनाएको छ ।
– एजेन्सी




















